काठमाडौं, ९ बैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेश प्रसाद थपलियाले चुनाव रोक्ने विषयमा कुनै कल्पना पनि गर्न नसकिने बताएका छन् ।

थपलियाले सर्वोच्चमा परेकोे रिट तेस्रो चरणको चुुनावबाट निर्वाचित जनप्रतिनिधिले पूरै कार्यकाल (२ असोजसम्म) काम गर्न पाउँ भनेर हालेकाले यस्ता आशंका आएको बताएका छन् ।

उनले यो रिट निर्वाचन नै रोकिनु पर्छ भनेर नभएकाले यसबारे आत्तिनु पर्ने अवस्था नरहेको बताए ।

‘सर्वोच्च अदालतमा भएको केसको विषय जनप्रतिनिधिको म्याद थपसँग सम्बन्धित विषयमात्रै हो। अर्थात्, हामी पाँच वर्ष कार्यकालका मानिस थियौँ, त्यो पूरा गर्न पाऔं भन्ने विषय हो, ’ उनले भनेका छन्, ‘कानूनअनुसार नै निर्वाचनको मिति तोकिएको हुनाले चुनाव रोकिने सम्भवै छैन । हदै भयो भने अदालतले उनीहरुलाई पूरा कार्यकाल काम गर्न दिनू भन्न सक्छ । त्यो अवस्थामा पनि वैशाख ३० गते निर्वाचन हुन्छ, जनप्रतिधिहरु असोजसम्म पर्खेर बस्लान् र त्यसपछि पदभार ग्रहण गर्लान्। यसले निर्वाचनलाई रोक्दैन ।’