विराटनगर, ९ बैशाख । नेकपा एमालेले विराटनगर महानगरपालिकामा सागर थापालाई मेयरको उम्मेदवार बनाउने तयारी गरेको छ ।

त्यहाँ नगर कमिटी तथा प्रदेश कमिटीबाट मेयर पदको उम्मेदवारका लागि सिफारिस भएकाहरुमध्ये थापालाई मेयरको उम्मेदवार बनाउने तयारी नेकपा एमालेले गरेको हो ।

नेकपा एमालेका एक सचिवालय सदस्यका अनुसार प्रदेश १ मा प्रदेश सभा सदस्य तथा प्रतिनिधिसभा सदस्यले पनि मेयरमा उठ्ने चाहना राखेका थिए ।

‘तर, एकै जनालाई बारम्बार पार्टीमा अवसर दिनुहुन्न भन्ने कुरा छ,’ ती नेताले भने, ‘त्यसैले प्रदेश सभा तथा प्रतिनिधिसभा सदस्यबाट राजीनामा गराएर मेयरमा उम्मेदवारी दिन लगाउने मनस्थितिमा हामी छैनौँ ।’

यसअघि विराटनगरको मेयरका लागि नगर कमिटी, प्रदेश कमिटीले सागर थापा, पर्शुराम बस्नेत तथा जीवन घिमिरेलगायतको नाम सिफारिस गरेको थियो । थापा नेकपा एमाले नगर कमिटीका अध्यक्ष हुन् भने बस्नेत नेकपा एमाले निकट नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष हुन् । बस्नेतले मेयरमा आफू नउठ्ने बताएपछि एमालेले थापालाई मेयरमा अगाडि सार्ने तयारी गरेको हो ।

‘तर, यसको निर्णय भइसकेको छैन,’ एमालेका ती नेताले भने, ‘शनिबार साँझसम्म टुंगो लाग्नेछ ।’