जनकपुरधाम, ८ बैशाख । जनकपुरधाम उमहानगरपालिकाको नगरप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका बलराम महतो उपमहानगरको प्रत्येक वडामा पुगेर स्थानीय मतदातासँग मत माग्न व्यस्त देखिएका छन् ।

आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा महतोले घरदैलो कार्यक्रमलाई समेत त्यही गतिमा तीव्रता दिएका हुन् ।

यसैक्रममा महतोले बिहीबार जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर–८ बलवा टोल र वडा नम्बर–२० देवपुरा रुपैठामा घरदैलो कार्यक्रम गरेका छन् ।

वडा वडामा जनता माझ पुगिरहेका महतोले उपमहानगरको विकासमा राजनीतिकरण भईरहेकाले आफू स्वतन्त्र रुपमा विकासकै लागि आएको भन्दै मतदातालाई रिझाउने प्रयास गरिरहेका छन् ।

मतदाताहरु समेत उपमहानगरको वर्तमान कार्यशैलीप्रति असन्तुष्ट रहेको गुनासो महतोलाई सुनाएका थिए । मतदाताहरुको मन बुझ्ने प्रयासको रुपमा समेत महतोले घरदैलो कार्यक्रमलाई प्रयोग गरिरहेका छन् ।

मतदाताहरुले उपमहानगरमा भ्रष्टाचार बढ्दै गईरहेको असन्तुष्टि सुनाएपछि उनले आफू नगरप्रमुखमा निर्वाचित भए भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलता अपनाउने प्रतिवद्धता व्यक्त गरे । महतोले उपमहागरलाई वर्तमान नगरप्रमुख जस्तै कार्यकर्ता भर्तीकेन्द्र बनाउनुभन्दा वडा वडालाई विकासको काममा सक्रिय बनाउने बताए ।

‘राजनीतिक दलका नेताहरु जनता ठग्न समाजसेवा गर्न चाहनेलाई पनि विभिन्न आरोप लगाउने गरेको बताउँदै उनले आफ्नो नजिकको सरकारको मुखिया कस्तो छान्ने भन्ने कुरा जनताले बुझिसकेका छन् । त्यसैले आफू नगरप्रमुखको कुर्सी सम्हालेर उपमहानगरको विकासका लागि निस्वार्थ भावले केही गर्न खोज्ने आफ्नो सपना रहेको, ‘उनले सुनाए ।