काठमाडौं, ८ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले समय, काल, परिस्थिति र जनभावना अनुरुप विचार र बाटो परिमार्जन गर्न नसक्नेहरू जडसूत्रमा पतन हुने बताएका छन् ।

देशको धरातलीय यथार्थ र जनभावनालाई दृष्टिगत गर्दै आफूले ‘सम्वर्द्धनवाद’को बाटो रोजेको उनको भनाइ छ ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले सनातन धर्म संस्कृति र परम्पराको रक्षा गर्दै राष्ट्रियता, लोकतन्त्र र हिन्दुत्वको जगमा समृद्ध नेपाल निर्माण गर्ने सम्वर्द्धनवादको विचारले नेपाली राष्ट्रवादी आन्दोलनलाई बताउने उनको दाबी छ ।

‘इतिहासमा राजसंस्थाले गरेका राम्रा कामको सम्मान गर्दै जन सर्वोच्चताको बाटोमा हिँड्नु वर्तमान समयको माग हो । कुनै कालखण्डमा असल ठहरिएका विचार सार्वकालिक र शाश्वत हुँदैनन्,’ उनले भनेका छन्, ’कालान्तरमा ती विचार असान्दर्भिक हुनसक्छन् । हिजो विपी, मदनलाई गाली गर्नेहरू आज उनीहरूको दूरदर्शिताको प्रशंसा गर्छन् ।’