गठबन्धनको निर्णयकाबीच कांग्रेस नगर समितिले टुंग्यायो उम्मेदवारको नाम

जनकपुरधाम, ७ बैशाख । सत्तारुढ गठबन्धनको बैठकले जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्व गर्ने जिम्मा जनता समाजवादी पार्टी नेपालको भागमा दिएपछि कांग्रेसका नेताहरु आक्रोशित भएका छन् ।
नेपाली कांग्रेस जनकपुरधाम नगर कार्यसमितिले गठबन्धनको यो निर्णय नमान्ने चेतावनी दिएको हो ।
आफूहरु पार्टीको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको उम्मेदवारको नाम सिफारिस गर्न बैठक गरिरहेकै बेला केन्द्रीय गठबन्धनको निर्णय आएको नेपाली कांग्रेस जनकपुरधाम नगर कार्यसमितिका सचिव लालबाबु मिश्रले बताए ।
उनले गठबन्धनको निर्णय बमोजिम जनकपुरधाम उपमहानगरपालिकाको मेयर जसपाको फाँटमा परेको खबर आउनासाथ नगर कार्यसमितिको बैठकमा खलबली मचिएको बताए ।
नगर कार्यसमितिको बैठकले नेपाली कांग्रेसको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा मनोज कुमार साह, किशोरी साह र राकेश बिक्रम साहको नाम सिफारिस गरेको छ ।
त्यस्तै, उपमेयरमा इन्दिरा चौधरी, रुना झा र शान्ति बिष्ट घिमिरेको नाम सिफारिस गरिएको हो ।
गठबन्धनको निर्णय आउनासाथ नगर समितिले गठबन्धनको बिरोधमा जाने चेतावनी दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


