केन्द्रको निर्णयप्रति नेपाली कांग्रेस हेटौंडाको आपत्ति

हेटौंडा, ७ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस केन्द्रीय समितिले गरेको सहमतिको विपक्षमा कांग्रेस हेटौंडा उपमहानगर समितिले आपत्ति जनाएको छ ।
गठबन्धन दलबीच हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी रहने निर्णय गरेकोप्रति कांग्रेस हेटौंडा उपमहानगर समितिले आपत्ति जनाएको हो ।
बुधबार कांग्रेस हेटौंडा उपमहानगर समितिले पत्रकार सम्मेलन गरेर पालिकास्तरमै गठबन्धन दलबीच छलफल चलिरहँदा केन्द्रीय समितिले स्थानीय मर्म र भावनालाई बेवास्ता गर्दै केन्द्रमा सहमति भएको जनाएको छ ।
कांग्रेस हेटौंडा उपमहानगर समितिले हेटौंडा उपमहानगरका १९ वटै वडा सभापतिको उपस्थितिमा बैठक गरेर मित्रवत् प्रतिस्पर्धामा जाने निर्णय समेत गरेको दावी छ ।
नगरको गठबन्धनमा आवद्ध दलहरुमध्ये सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको नेतृत्वमा चुनावमा सहभागी हुन गठबन्धनका दलहरु समेत तयारी रहेको अवस्थामा केन्द्रीयस्तरमा भएको भागबण्डाले गठबन्धनको आवश्यक्ता र औचित्य समेत पूरा गर्न नसक्ने दावी पनि उपमहानगर समितिले गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


