जनकपुरधाम, ७ बैशाख । जनता समाजवादी पार्टी नेपालले महोत्तरीको मनरासिस्वा नगरपालिकाको मेयरमा महेन्द्र राय यादवको एकल नाम सिफारिस गरेको छ ।

नगरकमिटीले नगरप्रमुखमा यादवलाई पार्टीको तर्फबाट एकल उम्मेदवार बनाउन सिफारिस गरेको हो ।

मङ्गलबार बसेको जसपा नेपालको मनरासिस्वा नगरपालिकाको बैठकबाट बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा त्यस पालिकामा पार्टीको तर्फबाट यादवलाई मेयर पदको लागि उम्मेदवार बनाउने सर्वसहमति निर्णय गरिएको छ ।

नगरकमिटीको बैठकले यादवलाई नगरप्रमुखको उम्मेदवार बनाउन पार्टीको जिल्ला समन्वय समिति र प्रदेश कमिटीलाई सिफारिस गरेको जसपाको नगर कमिटीका उपाध्यक्ष गगन यादवले जानकारी दिए ।

प्रदेश कमिटी तथा जिल्ला समन्वय समितिका सदस्य, पार्टीका विभिन्न आयोग र विभागका सदस्य, सल्लाहकार, नगर कमिटीका पदाधिकारी सहितको बैठकले उम्मेदवारको नाम सिफारिस गरेको उनले जानकारी दिए ।

सोही नगरपालिकामा यसअघि २०७४ सालको निर्वाचनमा महेन्द्र राय यादव तत्कालिन संघिय समाजवादी फोरम नेपालबाट मेयर पदको उम्मेदवार भई करिव ३ हजार ६०० मत प्राप्त गरी हालका मेयर संजय सिंहसंग झिनो मतान्तरले पराजित भएका थिए ।