काठमाडौं, ६ बैशाख । प्यारालाइसिसको बहाना बनाई उपचारको क्रममा वीर अस्पतालबाट फरार भएका एक जना थुनुवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–३ कुञ्चोक करमडाँडा घर भएका ४५ वर्षीय राजेश तिरुवा रहेका छन् ।

जबरजस्ती करणी मुद्दामा केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा रहेका तिरुवाले आफूलाई प्यारालाइसिस भएको बहाना बनाई वीर अस्पतालमा भर्ना भएका थिए । उनी उपचाररत रहेको अवस्थामा गत चैत २९ गते राति अस्पतालबाट फरार भएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनलाई बूढानीलकण्ठ नगरपालिका–१२ स्थित राधाकृष्ण मन्दिर नजिकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि केन्द्रीय कारागार जगन्नाथ देवल काठमाडौं पठाइएको छ ।