सप्तरी, ६ बैशाख । ३० बैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सप्तरीमा जसपाबाट निर्वाचित गाउँपालिका अध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

जिल्लाको महादेवा गाउँपालिकाका अध्यक्ष दीपक कुमार यादव मंगलबार कांग्रेसको राजविराजस्थित कार्यालयमा पुगेर पार्टी प्रवेश गरेका हुन् ।

तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित यादव जसपामा आबद्ध थिए । उनी जसपाका प्रदेश समिति सदस्यसमेत थिए ।कांग्रेसको केन्द्रीय सदस्य दिनेश यादव, जिल्ला सभापति रामदेव साह लगायतले यादवलाई पार्टी प्रवेश गराएका छन् ।

अध्यक्ष यादवसँगै वडा नं. ३ का वडाध्यक्ष अनिरुद्ध प्रसाद यादव, वडा नम्बर ८ का वडाध्यक्ष कौशल कुमार दास, राजविराज नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सुदर्शन सिंह समेत नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।