भरतपुर महानगरपालिकामा मेयरको पद छाड्न कांग्रेस तयार

चितवन, ६ बैशाख । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरपालिकामा मेयरको पद कांग्रेसले छाड्नु पर्ने बताएका छन् । उनले चितवनका कांग्रेस सभापति राजेश्वर खनाललाई भेटेरै यो कुरा बताएका छन् ।
आज मात्रै चितवन जिल्ला सभापति खनाल र देउवाबीच भेटवार्ता भएको थियो ।
आफूहरुले काठमाडौंं, ललितपुर र विराटनगरको मेयर पद लिने र भरतपुर माओवादीलाई दिनु पर्ने उनले बताएको उनीनिकट एक नेताले जानकारी दिए । ‘उहाँले जिल्लाको माहोल सम्हाल्नुहोस्, गठबन्धनलाई अगाडि बढाउनु पर्छ, भरतपुर माओवादीलाई नै दिनु पर्यो भन्नुभयो,’ ती नेताले भने ।
तर, खनालले अहिले पनि भरतपुर महानगरपालिकाको मेयर पद माओवादीलाई दिए चितवनमा कांग्रेसबाट विद्रोह हुने र आफूहरुले त्यसलाई सम्हाल्न नसक्ने बताएका थिए ।
यसअघि पनि चितवनका कांग्रेस नेताहरुले भरतपुरमा कांग्रेसले अरुलाई समर्थन गरेमा आफूहरुले निर्वाचनको परिणामको जिम्मा लिन नसक्ने बताउँदै आएका छन् । चितवनमा केही नेताहरुले मेयरमा माओवादीलाई दिने चर्चा चलेपछि पार्टी सदस्यताबाट राजीनामासमेत दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


