हेटौंडा, ६ बैशाख । गठबन्धनका तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरको सिट नेपाली कांग्रेसले पाउनुपर्ने माग गर्दै हेटौंडा–२ स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।

केन्द्रीयस्तरमा गठबन्धनबारे छलफल जारी रहँदा हेटौंडाको मेयर नेकपा एकीकृत समाजवादीले पाउने चर्चा हुन थालेपछि असन्तुष्ट कार्यकर्ताहरूले हेटौंडा उपमहानगर समितिको बैठकका बीच पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।

नेपाल तरुण दल हेटौंडा उपमहानगर समितिका सभापति सुनिल गिरीको सक्रियतामा तालाबन्दी गरिएको हो ।

पार्टी कार्यालयमा तालाबन्दीपछि कार्यकर्ताहरू नाराबाजीमा उत्रिएका छन् । केन्द्रीय सभापति शेरबहादुर देउवासम्म हेटौंडाको मेयर कांग्रेसले पाउनुपर्ने माग राख्दै दबाब सिर्जना गर्न तालाबन्दीसँगै नाराबाजी गरिएको तरुण दल नगर सभापति गिरीले बताए ।

गठबन्धनमा निर्वाचन हुने भएपछि आफ्नो पार्टीले नेतृत्व पाउनुपर्ने भन्दै मकवानपुरमा कांग्रेसभित्रै विवाद सिर्जना भइरहेको छ ।