काठमाडौं, ५ बैशाख । नेपालमा प्रतिबन्धित रहेको क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २२ वर्षीय अनुप मिश्र, २४ वर्षीय दिपेश थापा र २७ वर्षीय राहुल चचान रहेका छन् । तीनै जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ४ र ५ वैशाखमा काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकीबाट पक्राउ गरेको हो ।

पछिल्लो दुई वर्षको अवधिमा उनीहरूले ६६ करोड ७९ लाख रुपैयाँ बराबरको प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अनुप मिश्रले सन् २०२१ देखि हालसम्म बाइनान्स एकाउन्ट प्रयोगगरी विभिन्न २० प्रकारका क्रिप्टोकरेन्सीको कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले ३५ करोड ४६ लाख ८३ हजार बराबरको कारोबार थिए । उनको एकाउन्टमा १२ हजार ८ सय अमेरिकी डलर बराबरको बिटक्वाइन मौज्दात रहेको छ ।

त्यस्तै, दिपेश थापाले पनि सन् २०२१ देखि हालसम्म विभिन्न ७ प्रकारका क्रिप्टोकरेन्सीमार्फत जम्मा २४ करोड २९ लाख ५६ हजार बराबरको कारोबार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनको एकाउन्टमा अहिले १ सय अमेरिकी डलर बराबरको बिटक्वाइन मौज्दात रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, राहुल चचानले करिब १ वर्षअघिदेखि हालसम्म विभिन्न २० प्रकारका क्रिप्टोकरेन्सीबाट ६ करोड ५३ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार गरेको देखिको छ । हाल उनीसँग ६ सय अमेरिकी डलर बराबरको बिटक्वाइन मौज्दात रहेको प्रहरीको भनाइ छ ।

उनीहरूलै दैनिक ५ हजार देखि ५० हजार अमेरिकी डलरसम्मको बिटक्वाइनको कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरूले व्यापारिक प्रयोजनका सामग्री विदेशबाट आयात गर्दासमेत अनलाइनमार्फत क्रिप्टोकरेन्सीमार्फत नै भुक्तानी गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।