मधेस प्रदेशमा तालमेलको मोडालिटी टुङ्गो लगाउन गठबन्धनको बैठक जारी

जनकपुरधाम, ५ बैशाख । मधेस प्रदेशमा सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक जारी रहेको छ ।
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशमा चुनावी तालमेल गर्ने विषयमा आइतबार बेलुकादेखि सुरु भएर स्थगित भएको बैठक सोमबार बिहान ११ बजेदेखि जारी रहेको हो ।
जनकपुरधामस्थित जनता समाजवादी पार्टी नेपालको प्रादेशिक कार्यालयमा जारी बैठकमा चुनावी तालमेल गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।
बैठकमा नेपाली कांग्रेस, जसपा नेपाल, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्षहरू उपस्थित छन् ।
बैठकमा तालमेलको मोडालिटी टुङ्गो लगाउनेबारे ठोस निष्कर्ष लगाउन सकिने सम्भावना रहेको नेताहरूले बताएका छन् । बैठकमा प्रदेशका पालिकाहरुमा हुन सक्ने चुनावी तालमेल र गठबन्धनको विषयमा छलफल गर्दै निष्कर्ष लगाउने पार्टीका नेताहरूले विश्वास व्यक्त गरेका छन् ।
बैठकमा नेपाली काँग्रेस मधेस प्रदेश समितिका अध्यक्ष कृष्णप्रसाद यादव, काँग्रेसका नेता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, नेकपा माओवादी केन्द्र मधेस प्रदेश समितिका इन्चार्ज गणेश साह, जसपा नेपाल मधेस प्रदेश समिति अध्यक्ष रामबाबु कुमार यादव, नेकपा एकीकृत समाजवादी मधेस प्रदेश समितिका इन्चार्ज धर्मनाथ साहलगायतका नेताहरूको सहभागिता रहेको छ ।
धनुषा, महोत्तरी, सर्लाही, सिरहालगायतका जिल्लामा गठबन्धनका लागि बैठक भए पनि पर्सा, बारा र रौतहटमा भने गठबन्धनको बैठक बस्न सकेको थिएन । जिल्लागत छलफलपश्चात् मात्रै तालमेलको खाका तयार पारिने सत्तारुढ गठबन्धनका घटक दलहरुले जनाएका छन् ।
मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासहित पाँचदलीय गठबन्धन छ ।
यता, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले मेयर पद नछाड्ने अडानमा लिएका छन् । यसले सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलमेलको संकट देखिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


