सर्लाही, ४ बैशाख । सर्लाहीमा मिनी बसले ठक्कर दिँदा साइकलमा सवार एकजनाको मृत्यु भएको छ ।

मलगंवा नगरपालिका–१२ गम्हरियास्थित नवलपुर मलंगवा भित्रि सडक खण्डमा मिनी बसले दिएको ठक्करबाट साइकलमा सवार कविलासी नगरपालिका–९ बस्ने ५८ वर्षीय शंकर रायको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बीआर ०६ पीएफ १०७४ नम्बरको मिनी बसले दिएको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लग्ने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाही प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

ठक्कर दिने बसलाई नियन्त्रणमा लिइएको र फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।