सप्तरी, ४ बैशाख । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले देशको राजनीति लिकभन्दा बाहिर गइसकेको टिप्पणी गरेका छन् । त्यसलाई लिकमा नल्याए जतिखेर पनि दुर्घटना हुन सक्ने उनको भनाइ छ ।

राजविराजमा आइतबार आयोजित पत्रकार सम्मेलनमा त्रिपाठीले राजनीति लिकबाहिर गएपनि कसैलाई चिन्ता नभएको बताए ।

उनले भने, ‘न्यूनतम एजेन्डामा राष्ट्रिय सहमति बनाएर राजनीतिलाई लिकमा ल्याउनु जरुरी छ’ उनले भने, ‘तर यसतर्फ कसैको ध्यान छैन ।’

राजनीतिलाई लिकमा नल्याए देशमा दुर्घटना हुने र अहिलेसम्मको उपलब्धी गुम्न सक्ने उनले बताए । केही शक्तिले उपलब्धीमाथि नै प्रहार गर्न खोजेको उनको भनाइ छ ।

अध्यक्ष त्रिपाठीले देशको संविधान घाइते बन्दै गएको पनि बताए । सर्वाेच्च अदालतले पनि संविधानलाई घाइते बनाएको उनको भनाइ छ ।