जनकपुरधाम, ४ बैशाख । मधेस प्रदेशमा सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक बसिरहेको छ ।

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशमा चुनावी तालमेल गर्ने विषयमा सत्तारुढ दलको बैठक बसिरहेको छ ।

जनकपुरधामस्थित जनता समाजवादी पार्टी नेपालको प्रादेशिक कार्यालयमा जारी बैठकमा चुनावी तालमेल गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

बैठकमा नेपाली कांग्रेस, जसपा नेपाल, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्षहरु उपस्थित छन् ।

सत्तारुढ दलका प्रदेश अध्यक्षहरु कृष्ण यादव, रामबाबु यादव, गणेश साह र धर्मनाथ साहको उपस्थिती बिच जारी रहेको बैठकमा प्रदेशका पालिकाहरुमा हुन सक्ने चुनावी तालमेल र गठबन्धनको विषयमा छलफल गर्दै निश्कर्ष लगाउने पार्टीका नेताहरुले विश्वास व्यक्त गरेका छन् ।

धनुषा, महोत्तरी, सर्लाही, सिरहालगायतका जिल्लामा गठबन्धनका लागि बैठक भए पनि पर्सा, बारा र रौतहटमा भने गठबन्धनको बैठक बस्न सकेको थिएन । जिल्लागत छलफलपश्चात् मात्रै तालमेलको खाका तयार पारिने सत्तारुढ गठबन्धनका घटक दलहरुले जनाएका छन् ।

मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासहित पाँचदलीय गठबन्धन छ ।

यता, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले मेयर पद नछाड्ने अडानमा लिएका छन् । यसले सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलमेलको संकट देखिएको छ ।