जनकपुरधाम, ४ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले कुनै दलसँग तालमेल नगर्ने बताएका छन् ।

आइतबार धनुषाको बिरेन्द्रबजारमा पार्टीको क्षेत्रिय आमसभा एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपाले आगामी निर्वाचनमा अधिकांश स्थानमा जित हासिल गर्ने दाबीसमेत गरेका हुन् ।

‘आगामी निर्वाचनमा राप्रपा आफ्नै बलबुतामा जनताबीच जान्छ, उनले भने, ‘हामी अन्य कुनै राजनीतिक दलसँग चूनावी तालमेल गर्दैनौं ।’
राप्रपाले मौका पाउनेवित्तिकै नेपालमा राजसंस्था ल्याउने र हिन्दु राष्ट्रसमेत घोषणा गर्ने उनको जिकिर थियो ।

आगामी दिनमा देशमा अभिभावकिय संस्थाको रुपमा राजसंस्था रहने दाबी गर्दै उनले जनताबाट निर्वाचित जनप्रतिनिधिले देशको शासन व्यवस्था चलाउने नीति आफ्नो पार्टीको रहेको स्पष्ट गरे ।