रौतहट, ४ बैशाख । रौतहटमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

विवाह हुन लागेको घरमा गीत गाउने क्रममा माइकमा विद्युतको करेन्ट प्रवाह हुँदा दुर्गाभगवती गाउँपालिका–१ की ३० वर्षीया सम्घरिया देवीको मृत्यु भएको हो ।

दुर्गाभगवती–१ स्थित शिव मन्दिर टोलका नरेश राउतको छोरीको विवाहको पूर्वसन्ध्यामा शनिवार अबेर गाउँलेहरु भेला भएर नाचगान गरिरहेका थिए । सोही क्रममा माइकमा करेन्ट प्रवाह हुँदा सम्घरिया देवीसहित ८ जना महिलालाई करेन्ट लागेको थियो ।

अस्पतालमा उपचारको क्रममा सम्घरिया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

करेन्ट लागेर दुर्गाभगवती १ पिपराकी सिता देवी राउत बरै, अनिता देवी राउत , मन्तोरिया देवी , मुनि राउत , केवला देवी, शुसिला देवी र हिरिया देवी घाइते भएकी छन् ।