जनकपुरधाम, ३ बैशाख । नेपाली कांग्रेस जनकपुरधामका नगर सभापति मनोज साहले आफू मेयर पदको निर्विकल्प उम्मेदवार रहेको बताएका छन् ।

३० बैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट जनकपुरधामको नगरप्रमुखमा आफू निर्विकल्प उम्मेदवार रहेको साहले दाबी गरेका हुन् ।

साहले जनकपुरधामको मेयर पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । आफ्नो पक्षमा जनताको मत आउने उनले दाबी गरे ।

उनले भने,‘म पार्टीको तर्फबाट मेयर पदका लागि निर्विकल्प उम्मेदवार हुँ । मेरो विकल्प नै छैन् । त्यसैले पार्टीले फेरि मलाई नै टिकट दिन्छ भन्ने कुरामा म विश्वस्त छु ।’

उनले पार्टीले यसपालि आफूलाई टिकट उपलब्ध गराए आफ्नो जित सुनिश्चित रहेको दाबीसमेत गरे ।

यसअघि २०७४ सालको निर्वाचनमा जनकपुरधाममा नेपाली कांग्रेसका उम्मेदवार साहले ११ हजार १६४ मत प्राप्त गरेका थिए ।