धामीझाँक्रीको कुटाइबाट एक महिलाको मृत्यु, ७ जना पक्राउ

कञ्चनपुर, ३ बैशाख । कञ्चनपुरमा धामीझाँक्रीको कुटाइबाट एक महिलाको मृत्यु भएको छ । आर्थिक रूपमा विपन्न जिल्लाको बेदकोट नगरपालिका–७ मुसेपानीकी ४३ वर्षीया रन्जुला साउँदले चेतना अभावका कारण अकालमै ज्यान गुमाउन परेको हो ।
साँउद बिरामी भएपछि अस्पताल लैजान आर्थिक अभावका कारण घरमै धामीझाँक्री बोलाएर उपचार गर्न थालेपछि धामीझाँक्रीको कुटाइबाट साँउदको मृत्यु भएको स्थानीयको भनाइ छ । साउँदलाई उनका घर परिवारले अस्पताल लैजानुको साटो घरमै धामीझाँक्रीमार्फत झारफुक गराएका थिए ।
स्थानीयका अनुसार उनी केही दिनदेखि साँउद बिरामी थिइन् । अस्पताल जानका लागि पैसा नभएकाले उनको उपचारका लागि स्थानीय धामीझाँक्री धर्मानन्द भट्ट र नारायण दत्त भट्टले झारफुक गदै आएका थिए ।
स्थानीयले घटना जघन्य प्रकृतिको भएकाले दोषीलाई उन्मुक्ति दिन प्रहरीले संकास्पद भूमिका निर्वाह गर्न नहुने बताएका छन् । विगतमा पनि यस्ता प्रकृतिका घटनामा प्रहरीले मिलाउने भएकाले यस पटक गल्ती दोहो¥याउन नहुनेतर्फ ध्यान केन्द्रीत गरेका छन् ।
मृतक साँउदका श्रीमान् छैनन् । उनका दुई छोरी छन् । ‘अहिले युगमा पनि भूतप्रेत लागेको भन्दै हत्या गर्ने हिसाबले कुटपिट गर्ने कार्य निन्दनीय र अमानवीय छ,’ ‘उनले भनिन्, ‘घटनाको सत्यतथ्य छानबिन गरेर दोषीउपर कारबाही हुनुपर्छ ।’ प्रहरीले धामीझाँक्री धर्मानन्द भट्ट र नारायण दत्त भट्टलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले धामीझाँक्रीद्वय भीमदत्त नगरपालिका–७ का धर्मानन्द भट्ट र भीमदत्त नगरपालिका–१ बाराकुण्डाका नारायणदत्त भट्ट, मृतकका देवर र जेठानी कमलासहित ७ जनालाई नियन्त्रणमा लिएको बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी शाहले बताए । उनले धामीझाँक्रीकै कारण हो वा अन्य कारणले मृत्यु भएको हो भन्ने विषयमा अहिले नै भन्न नसकिने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


