महोत्तरी, ३ बैशाख । महोत्तरीमा घाँस काट्न वनमा गएकी एक महिला मृत फेला परेकी छन् ।

जिल्लाको मनरासिस्वा नगरपालिका–३ स्थित वनमा शुक्रबार राति सम्सी गाउँपालिका–५ पोखरभिण्डा बस्ने सोगारथ साहकी पत्नी ५९ वर्षीया जिवशीदेवी मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार शुक्रबार अपराह्न ५ बजे घाँस काट्न वनमा गएकी जिवशीदेवी रातिसम्म नफर्केपछि खोजतलास गर्दा वनमा मृत अवस्थामा फेला परेकी थिइन ।

राति १० बजे पोखरभिण्डास्थित प्रहरी चौकीलाई खबर गरेलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले जाँचबुझ गर्दा उनको शरीरमा कुनै चोटपटक नदेखिएको डीएसपी विष्टले बताए ।

स्थानीय तथा आफन्तले उनको मृत्यु सर्पदंश वा उच्च तथा अल्प रक्तसञ्चारका कारण भएको हुनसक्ने अनुमान गरेका छन् ।

प्रहरीले घटनाबारे अनुसन्धान अगाडि बढाएको जनाएको छ ।