जनकपुरधाम, २ बैशाख । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरु आ–आफ्नो पक्षमा माहौल बनाउन जुटिसकेका छन् । उम्मेदवारहरुले वैशाख ३० गते हुने निर्वाचनको तयारी अहिलेदेखि नै सुरु गरिसकेका छन् ।

निर्वाचन आयोगले निर्वाचन कार्यक्रम अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने मिति तोकेसँगै उम्मेदवारहरु चुनावी अभियानमा जुटेका हुन् ।

सोहीक्रममा धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकामा यसपटकको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारको जित सुनिश्चित रहेको दाबी गरिएको छ ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी नेपाली कांग्रेस मुखियापट्टी मुसहरनीया गाउँपालिकाका सभापति विश्वनाथ यादवले यस पालिकामा कांग्रेसको जित सुनिश्चित रहेको दाबी गरे ।

उनले कांग्रेसबाट तिनजनाको दावेदारी रहेपनि पार्टीले अन्तोगत्वा आफूलाई नै टिकट दिने विश्वाससमेत व्यक्त गरेका छन् ।

यादवले गाउँपालिका अध्यक्षका लागि आफूलगायत पार्टीका अन्य नेताहरु रामबाबु यादव, सुरेन्द्रप्रसाद चौधरी ‘मुन्ना’ र प्रमोद यादवले समेत दावेदारी गरिरहँदा पार्टीभित्र आफ्नो योगदान र मूल्यांकनको कदर गरिने विश्वास व्यक्त गरे । उनले आफूले टिकट पाए आफ्नो जित सुनिश्चित रहेको र जित सुनिश्चित भएकैले आफू उम्मेदवार बन्ने बताए ।

‘जनताले पहिल्यैदेखि विश्वनाथ आउनुपर्थ्यो भन्ने चाहना व्यक्त गरेका रहेछन् । मैले बल्ल बुझ्दै छु,’ उनले भने । विकासको प्रचुर सम्भावना भएकाले एउटा नयाँ मोडेल प्रस्तुत गर्न आफू उम्मेदवार बन्न लागेको यादवको भनाइ थियो । उनले भने, ‘मेरो प्रतिस्पर्धी यहाँ कोही छैनन् ।’

आफूले मुखियापट्टी मुसहरनीया गाउँपालिकाका लागि गरेको योगदानको जनताले अवश्य मूल्यांकन गर्ने भन्दै उनले अब यहाँ विकास र समृद्धिको यात्रा सुरु हुने बताए । ‘यहीँको जनताले मलाई नेता बनाएको हो, त्यो ऋण तिर्ने मेरो जिम्मेवारी छ,’ यादवले भने ।

यादवले मुखियापट्टीको समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहने दाबी गरे ।

उनले पार्टीभित्र आफ्नो कार्यक्षमताको मूल्यांकन भई पार्टीले टिकट आफूलाई नै दिने विश्वास व्यक्त गरेका छन् । उनले स्थानीय जनताको साथ, समर्थन र सहयोग प्राप्त भए आफूले आगामी पाँच वर्षमा आमूल परिवर्तन गर्ने दाबी गरे ।

यादवले विगत पाँच वर्षमा यस ठाउँले खासै कुनै प्रगति गर्न नसकेको बताउँदै शिक्षा, स्वास्थ्यलगायत अधिकांश क्षेत्रको अवस्था अझै पनि जर्जर रहेको दाबी गरे ।