जनकपुरधाम, १ बैशाख । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्धवारी दिने घोषणा गरेका समाजसेवी बलराम महतोले चुनावी प्रचारलाई तिव्रता दिएका छन् ।

महतोले निर्वाचनकेन्द्रित भएर घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।

जनकपुरधामको मुहार फेर्नको लागि पनि यसपटक आफू मेयरमा उठेको महतोले बताए । यहाँको समग्र एवम् चौतर्फि विकासका लागि राजनीतिक दलहरु उदासिन रहेको उनको गुनासो छ ।

उनले नेतागिरी र भाषण नभई आफूले विकास गर्ने विश्वास दिलाएका छन् । महतोले नयाँ वर्ष २०७९ को अवसरमा जानकी मन्दिरमा आर्शिवाद ग्रहण गर्दै जनताको घरघरमा पुगी नयाँ वषको शुभकामनासमेत आदानप्रदान गरेका छन् ।

महतो यसअघि निर्माण व्यवसायमा थिए । तर, उनले अहिले आफ्नो सबै कम्पनीबाट विश्राम लिएका छन् ।

महतोले आफू कुनै राजनीतिक दलमा आबद्ध नभई स्वतन्त्र रूपमै मेयर पदका लागि उम्मेदवार रहेको बताए । उनले राजनीतिक दलबाट निर्वाचित मेयरबाट नगरको दिगो विकास र समृद्धि नहुने भएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको प्रस्ट पारे ।

महतोले ‘पार्टीको नेता हैन, स्थानीय विकासमा समर्पित जनसेवकलाई चुनौं’ भन्ने नाराका साथ आफू चुनावी मैदानमा होमिएको पनि बताए ।

आफ्नो उम्मेदवारी विशुद्ध विकासका लागि भएको दाबी गर्दै महतोले नगरमा हुने संस्थागत भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।