बारामा भरुवा बन्दुक पड्किएर एक युवकको मृत्यु

बारा, १ बैशाख । बारामा भरुवा बन्दुक पड्किएर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ डकाहा टोल बस्ने २८ वर्षीय सागर सिंजाली रहेका छन् ।
दुधौरा खोलामा माछा मारेर फर्कने क्रममा बुधबार राति साढे ११ बजे उनलाई गोली लागेको थियो । खोलामै रहेको सिरु घारीमा जंगली जनावरको शिकारका लागि थापेको भरुवा बन्दुकको पासोमा परेपछि बन्दुक पड्किएको प्रारम्भिक सूचना प्रहरीले पाएको छ । गोली लागेर गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी वयोधा अस्पतालमा लगिएको थियो ।
उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट १ थान भरुवा बन्दुक बरामद गरेको छ । बन्दुक कसको हो, पासोमै परेर उनको मृत्यु भएको हो वा कसैले पड्काएको हो ? भन्ने बारेमा अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


