तत्कालीन नेकपामा आफ्नो प्रभाव बढ्दै गएपछि पार्टी फुटाउने षड्यन्त्र भयो : प्रचण्ड

काठमाडौं, १ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आफ्नो प्रभाव बढ्दै गएपछि पार्टी फुटाउने षड्यन्त्र भएको बताएका छन् ।
बिहीबार ललितपुरमा आयोजित नेकपा माओवादी केन्द्रको माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
प्रचण्डले तत्कालिन नेकपामा रहेका पूर्वएमालेका ८० प्रतिशत नेताहरूले माओवादी जनआन्दोलनको ऐतिहासिकता स्वीकार्न थालेपछि पार्टीमा विद्रोह सुरु भएको बताए । उनले तत्कालीन नेकपामा पूर्वएमालेका अधिकांश नेताहरूले अबको नेता प्रचण्ड भन्न थालेपछि पार्टी फुटाउने षड्यन्त्र भएको पनि दाबी गरे ।
प्रचण्डले माओवादीको पंक्ति ठूलो भइदिएको भए नेकपा नै कब्जा गर्ने सम्भावना रहेको कुरा पनि बताए । उनले अझै पनि नेकपा एमालेमा रहेका अधिकांश नेताहरू समाजवादी क्रान्तिका लागि तयार इमान्दार कम्युनिष्ट रहेको र उनीहरूको नेतृत्व पनि आफूले गर्नुपर्ने बताए ।
प्रचण्डले देशभित्र र बाहिर प्रतिगमनकारी तत्वले माओवादीको उपलब्धिलाई नष्ट गर्न खोजिरहेको पनि आरोप लगाए । उनले प्रतिक्रियावादीको रणनीति अहिले पनि माओवादीलाई घेरा हालेर सखाप पार्ने रहेको भन्दै त्यसलाई परास्त गर्न माओवादीले सबै माओवादीलाई एकजुट पार्ने, घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीति बनाएर अघि बढ्ने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


