काठमाडौं, १ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तह निर्वाचनमा गठबन्धनमा रहेका दलहरूको स्थानीय पार्टी कमिटीमा सहमति नजुटे तालमेल नहुने बताएका छन् ।

बिहीबार कांग्रेस काठमाडौं महानगरपालिका–८ ले नयाँ वर्षको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले स्थानीय निर्वाचनमा तालमेल गर्ने अधिकार स्थानीय पार्टी कमिटीलाई भएको बताएका हुन् ।

महामन्त्री थापाले गठबन्धनका दलहरूकाबीचमा देशभरि छलफल चलिरहेको उल्लेख गर्दै दलका बीचमा स्थानीय स्तरमा कुरा मिलेमा मात्रै तालमेल हुने अन्यथा आ–आफू निर्वाचन लड्ने बताए ।

स्थानीय पार्टी कमिटीले तालमेल नगर्ने भनेमा माथिल्लो तहले तालमेलको निर्णय नथोपर्ने उनले उल्लेख गरे । महामन्त्री थापाले व्यक्तिगत रूपमा आफू तालमेलको पक्षमा नरहेको भएपनि पार्टीले गरेको निर्णय मानेको पनि बताए ।

उनले कांग्रेसभित्र बृहत्तर एकता कायम गर्नुपर्ने बताए । निर्वाचनमा को उठ्दा जित्छ उसैलाई उठाउनुपर्ने थापाको भनाइ छ । पार्टीले उम्मेदवारको सम्बन्धमा गरेको निर्णय सबै नेता÷कार्यकर्ताले मान्नुपर्नेमा उनको जोड छ ।