जनकपुरधाम, १ बैशाख । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले आगामी निर्वाचनमा मेयर पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीबार निर्वाचनका लागि जनकपुरधाममा एकैपटक पाँच ठाउँमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै साहले मेयर पदमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् ।

सम्पर्क कार्यालयको उद्घाटन गर्दै साहले जनकपुरधामको समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहने दाबी गरे ।

उनले भने,‘जनकपुरधामको समग्र विकासका लागि सबभन्दा पहिले पवित्र मन, दृढ़ संकल्प, अर्जुन दृष्टि र व्यवहारमा कार्यान्वयन गर्न इच्छाशक्ति अत्यन्त आवश्यक छ ।’

साहले आम जनकपुरधामवासीको साथ, समर्थन र सहयोग प्राप्त भए आफूले आगामी पाँच वर्षमा आमूल परिवर्तन गर्ने दाबी गरे ।

‘म हावादरी कुरा गर्दिन कि जनकपुरधामलाई पाँच वर्षमा स्वर्ग बनाउँछु,’उनले भने,‘तर, जनकपुरधामबासीको स्मार्ट सिटीको सपना पूरा भएको छैन् । त्यसमा म आफ्नो सम्पूर्ण इफोर्ट लगाउनेछु ।’

उनले नयाँ जनकपुरधाम बनाउनका लागि युवाको नेतृत्व आवश्यक रहेकोले आफूलाई यसपालि सहयोग गर्न सबैसँग आग्रहसमेत गरे ।

साहले विगत पाँच वर्षमा जनकपुरधामले खासै कुनै प्रगति गर्न नसकेको बताउँदै शिक्षा, स्वास्थ्य, भौतिक निर्माणलगायत अधिकांश क्षेत्रको अवस्था अझै पनि जर्जर रहेको दाबी गरे ।

जनकपुरधाम मधेस प्रदेशको राजधानी भइसकेपनि यहाँको विकास र परिवर्तनले गति लिन नसक्नुमा नेतृत्वपंक्तिको ठूलो गल्ती रहको आरोपसमेत लगाए ।

नयाँ जोश, नयाँ सोच, नयाँ परिवर्तन र नयाँ जनकपुरधाम निर्माणका लागि मेयर पदमा आफ्नो दावेदारी रहेको साहले बताए । उनले नयाँ जनकपुरधाम निर्माण गर्नु नै आफ्नो मुख्य लक्ष्य रहेको जिकिर गरे ।