पर्सा, ३० चैत । नेपाली कांग्रेस पर्साका केही नेताहरुले स्थानीय तह चुनावमा गठबन्धन अस्वीकार गर्ने घोषणा गरेका छन् ।

नेपाली कांग्रेस वीरगञ्ज महानगर समिति सभापति मनिन्द्रलाल श्रेष्ठ (नेपाली), क्षेत्र नं. १ का सभापति अरविन्दकुमार गुप्ता, प्रदेश सभा क्षेत्र नं. १ को र २ को (क) र (ख) का क्षेत्रीय सभापतिहरुले गठबन्धन अस्वीकार गर्ने बताएका हुन् ।

‘साथीहरुको भावना विपरीत निर्वाचनमा समाहित भए पार्टीप्रति ठूलो घात हुने देखिन्छ’, उनीहरुले भनेका छन्, ‘पर्सामा कुनै पनि गठबन्धन स्वीकार नरहेको जानकारी हामी यही विज्ञप्तिमार्फत पार्टी केन्द्रीय कार्यालयलाई गराउछौं ।’

नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का सभापति गुप्ताले कांग्रेस आफैं बलियो पार्टी भएकोले पर्सामा अरुको साथ आवश्यक नभएको बताए ।

सरकारमा रहेका दलहरुसँग मिलेर चुनाव लड्ने कि नलड्ने भनेर नगर कार्य समितिले वीरगञ्ज महानगरको ३२ वटै वडाका बुथ सभापतिको राय सुझाव लिएको थियो ।

३२ वटै वडाबाट गठबन्धनमा चुनाव लड्ने भन्ने सुझाव नआएको महानगर सभापति मनिन्द्रलाल श्रेष्ठले निकालेको विज्ञप्तिमा उल्लेख छ ।गठबन्धनको चर्चाले उल्टै कार्यकर्तामा निराशा छाएको कांग्रेस महानगर समिति सभापति श्रेष्ठ बताउँछन् ।

तर कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी पार्टीले गर्ने निर्णय सबैले मान्ने भन्दै भने कुनै पनि नेता पार्टीको निर्देशन विपरीत नजानेमा आफू ढुक्क रहेको बताए । गठबन्धन नमान्ने भनेर पार्टीकै केही नेताहरुले निकालेको विज्ञप्ति भावनात्मक भएको उनले बताए ।