बोलेरो जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुग्यो

ओखलढुंगा, ३० चैत । ओखलढुंगामा बोलेरो जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
मानेभन्ज्याङ गाउँपालिका–६ हर्कपुरस्थित सिद्धिचरण राजमार्गमा बुधबार बिहान जिप दुर्घटनामा परेको थियो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रदेश प्रहरी कार्यालय विराटनगर आउँदै गरेको बा १७ च १०९४ को डबल क्याप बोलेरो सडकबाट १५० मिटर तल खस्दा तीन प्रहरीको मृत्यु भएको हो ।
बोलेरोमा सवार प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको घटनास्थलमा नै मृत्यु भएको थियो ।
प्रहरी जवान रूपन विष्टको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ६ जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार विशाल श्रेष्ठ, भुपेन्द्र खनाल र चालक लीलाप्रसाद खनाल घाइते भएका हुन् ।
उनीहरूलाई स्थानीय मेडिकलमा उपचारपश्चात थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरबाट लगिएको छ ।
प्रहरी नायब निरीक्षक धनराज खतिवडा भने स्थानीय मेडिकलमा उपचारपश्चात डिस्चार्ज भएका छन् ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


