काठमाडौं, ३० चैत । नेपाल परिवार दलले पनि स्थानीय तह चुनावमा सूर्य चिन्ह लिएर चुनाव लड्ने भएको छ ।

नेकपा एमाले र परिवार दलबीच भएको पाँच बुँदे सहमति अनुसार परिवार दलले सूर्य चिन्ह लिएर चुनाव लड्न पाउने भएको हो ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दुई दलबीच चुनावी तालमेल गरेर अघि बढ्ने सहमति भएको छ ।

नेकपा एमालेका स्थानीय विकास विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच गठबन्धन गर्ने सहमति भएको हो ।

सहमति अनुसार नेपाल परिवार दलका उम्मेदवारले सूर्य चिन्ह लिएर चुनाव लड्न पाउने भएका हुन् । निर्वाचनमा विजयी भएपश्चात भने नेपाल परिवार दलमै आबद्ध हुनेछन् ।

देशभरका तालमेल सम्भव पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने सहमति भएको छ ।

त्यस्तै, नेपाल परिवार दलले आफ्नो उम्मेदवार नभएका सबै ठाउँहरुमा नेकपा एमालेका उम्मेदवारहरूलाई सघाउने र नेपाल परिवार दलका उम्मेदवारहरूलाई नेकपा एमालेले सघाउने सहमति भएको छ ।

नेकपा एमाले र नेपाल परिवार दलका जिल्ला कमिटीहरूले आपसमा छलफल गर्ने र तालमेलका सम्बन्धमा उपयुक्त निर्णय गर्ने समेत सहमति भएको छ ।

जिल्ला तहमा भएको छलफल र सहमतिका सम्बन्धमा आ–आफ्ना प्रदेश र केन्द्रीय नेतृत्व समक्ष नियमित रूपमा प्रतिवेदन प्रस्तुत गर्ने समेत सहमति दुई पार्टीले गरेका छन् ।

स्थानीय तह निर्वाचनमा कमल थापा नेतृत्वको राप्रपा नेपालका उम्मेदवार पनि सूर्य चिन्ह लिएरै चुनाव लड्ने छन् ।

राप्रपा नेपाल र एमालेबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । सोही अनुसार राप्रपा नेपालका उम्मेदवारले सूर्य चिन्ह लिएर चुनाव लड्न पाउने भएका हुन् ।