जनकपुरधाम, २९ चैत । चुरे अभियानीहरुले ‘हल्ला बोल’ अभियान चलाएको छ ।

स्थानीय तहको निर्वाचन नजिकिएपछि नेताहरु घरदैलोमा पुग्न लागेको समयमा अभियानीहरु भने ‘हल्ला बोल’ अभियान चलाएका हुन् ।

अभियानअन्तर्गत सुकुम्वासीहरुको समस्या समाधान गर्ने र चुरेको वन संरक्षणको प्रतिवद्धता व्यक्त गर्ने नेताहरुलाई मात्रै मत दिन आग्रह गरिएको छ । सुकुम्वासी समस्या समाधान नभए यो अभियान स्थानीय तहको निर्वाचनको क्रममा मात्र नभई प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको क्रममा समेत जारी राख्ने चुरे बचाउ अभियानका संयोजक सुनिलकुमार यादवले चेतावनी दिए ।

उनले नेताहरु सुकुम्वासी दलितहरुको मत लिएर सरकार बनाएपनि उनीहरुको समस्या समाधान गर्नतर्फ कुनै चासो नराख्ने गरेको आरोप लगाए । उनले भने,‘मत माग्ने नेताहरुलाई हामीले चुरेको वन संरक्षणका लागि प्रतिवद्धता गराउँछौँ, सुकुम्वासीहरुको लालपूर्जा दिने प्रतिवद्धता गरे मात्रै मतदानमा सहभागी हुन्छौँ । नभए नो लालपूर्जा, नो भोट अभियानलाई तीव्र बनाउँछौँ ।’

मधेश प्रदेशको राजधानी जनकपुरधाममा मात्रै हजारौँ सुकुम्वासी रहेको जानकारी दिदै यादवले प्रदेशभरीमा रहेको सुकुम्वासीहरुको समस्या समाधानतर्फ ध्यान दिन नसक्ने यो कस्तो निकम्मा प्रदेश सरकार हो ? प्रश्न गरे ।

चुरे बचाउ अभियानका संयोजक यादव संघ सरकारको द्वैध चरित्रप्रति आक्रोश समेत व्यक्त गरे । उनले २०३५ सालमै गठन भएको सुकुम्वासी आयोग पहाडमा लालपूर्जा वितरण गरेपनि मधेसमा नगरेको आरोप लगाए ।