काठमाडौं, २९ चैत । सरकारले यसवर्ष पनि पुँजीगत खर्च गर्न सकेको छैन ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ८ महिनामा सरकारले मात्र ७७ अर्ब १५ करोड रुपैयाँ पुँजीगत खर्च गरेको हो ।

आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्ममा संघीय सरकारले कुल ६ खर्ब ७५ अर्ब ३० करोड रुपैयाँ खर्च गरेको कार्यालयले जनाएको छ ।

उक्त अवधिमा चालुतर्फ ५ खर्ब ३८ अर्ब ४४ करोड रुपैयाँ, पुँजीगततर्फ ७७ अर्ब १५ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गत ५९ अर्ब ७१ करोड रुपैयाँ खर्च भएको छ ।

चालु आर्थिक वर्षको पहिलो ८ महिनामा संघीय सरकारको कुल राजस्व ६ खर्ब ८४ अर्ब ७० करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँड हुने रकम समेत) परिचालन गरेको छ ।

यसमध्ये कर राजस्वतर्फ ६ खर्ब २७ अर्ब ९० करोड रुपैयाँ र गैरकर राजस्वतर्फ ५६ अर्ब ८० करोड रुपैयाँ परिचालन भएको छ ।