काठमाडौं, २९ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको खाली जग्गा भूमाफियाहरूको कब्जामा रहेको बताएका छन् ।

मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

उनले काठमाडौंका खाली ठाउँहरू भूमाफियाहरूले आफ्नो नाममा लिने काम भइरहेको भन्दै यसमा सचेत भएर काम गर्नुपर्ने बताए । यसलाई नियन्त्रण गर्न नसके भविष्यमा काठमाडौंमा खाली ठाउँ नहुने पनि बताए ।

प्रधानमन्त्री देउवाले काठमााडौंमा फोहोरको समस्या जटिल बन्दै गएको भन्दै फोहोरबाट विद्युत् र ग्याँस निकालेर व्यवस्थापन गर्नुपर्ने बताए । उनले फोहोर व्यवस्थापन हुन नसक्दा सरकार नै लाजमर्दो भइरहेको बताए ।

प्रधानमन्त्री देउवाले अहिले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितालाई ध्यान दिएर मात्रै काम गर्ने प्रतिवद्धतासमेत जनाए ।