जनकपुरधाम, चैत २९ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा पाइने औषधीय गुणले भरिपूर्ण वनस्पतिको संरक्षण समृद्धिको आधार बन्न सक्ने बताएका छन् ।

२३ आंै वनस्पति दिवसको अवसरमा वनस्पति अनुसन्धान केन्द्र धनुषाले धनुषाधामस्थित वनस्पति उद्यानमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले मुलुकको ठुलो सम्पतिको रुपमा रहेको वनस्पतिको संरक्षण गरेर मगन्य आम्दानी गर्न सकिने बताए ।

नेपालमा पाइने जडिबुटीहरुको माग विदेशमा समेत पर्याप्त मात्रामा रहेपनि संरक्षण हुन नसक्दा त्यतिकै खेर गइरहेको बताउँदै उनले प्रदेशको एकमात्र वनस्पति उद्यानको संरक्षण आवश्यक रहेको जिकिर गरे ।

धनुषाधाम संरक्षित वनक्षेत्रसँग जोडिएको वनस्पति उद्यान पर्यटकीय विकासमा समेत टेवा पुर्याउने सम्भावना बोकेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले उद्यान संघीय सरकार मातहत रहेपनि विकासमा प्रदेश सरकारले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वनस्पति अनुसन्धान केन्द्रका प्रमुख ताहिर हुसेनको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रदेश सभा सदस्य रामअशिष यादव सहितका वक्ताहरुले वनस्पतिको उपयोगिता बारे प्रकाश पारेका थिए ।

उक्त अवसरमा मुख्यमन्त्री राउतले पिपलको विरुवा समेत रोपेका थिए ।

धनुषाधाम वनस्पति उद्यानमा हाल २७६ प्रजातिका वनस्पतिहरु रहेको जनाइएको छ ।