सिरहा, २८ चैत । सिरहा प्रहरीले सामुदायिक वनका अध्यक्षलाई अवैध काठसहित नियन्त्रणमा लिएको छ ।

प्रहरीले सिरहाको मिर्चैया नगरपालिका–७ हरियोडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ठिकाराम पोखरेललाई लाखौं मूल्यको अवैध काठसहित पक्राउ गरेको हो ।

तीन वटा आँपको गोलिया, खयर र विभिन्न जातको अवैध काठ लोड गरिएको स १ त ३६०७ नम्बरको ट्याक्टरसहित उनी आफैंले चलाएर मिर्चैया बजारतिर ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी बल मिर्चैया वेसक्याम्पले नियन्त्रणमा लिएको हो ।

काठ अहिलेसम्म नाप जोख नभएकाले कति हो भन्ने यकिन नभएको वन कर्यालयले जनाएको छ ।

पक्राउ परेका पोखरेललाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय लहानलाई बुझाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पोखरेललाई म्याद थपको लागि जिल्ला अदालत सिरहा लगिएको छ ।