काठमाडौं, २८ चैत । सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सहकार्य र एक अर्कालाई सहयोग गर्दै अघि बढ्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको गठबन्धनको बैठकले आपसी मतभेद पन्छ्याउँदै चुनावमा एक अर्कालाई सहयोग गर्दै अघि बढ्ने निर्णय गरेको हो ।

गठबन्धन बैठकमा चुनावी तालमेलको मोडालिटीबारे छलफल भएको थियो । तर, निष्कर्षमा भने पुग्न सकेन । बैठकमा स्थानीय तह निर्वाचनमा दलहरूबीचको तालमेल कसरी गर्ने? कुन आधारमा गर्ने? भन्नेबारे छलफल भएको बताइएको छ ।

उनीहरूबीच पाँच दलीय सत्ता गठबन्धनमा रहेका दलहरूबाहेक अन्य दलसँग चुनावी तालमेल नगर्ने सहमति गरे पनि चुनावी तालमेलको मोडलबारे सहमति जुट्न सकेन । चुनावी तालमेलको मोडालिटीबारे भोलि बस्ने बैठकमा टुंगो लगाउने गठबन्धनको तयारी छ ।

भोलि बस्ने बैठकमा चुनावी तालमेलको मोडालिटीबारे छलफल हुने नेपाली कांग्रेसका नेता तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।