नेपालगञ्ज, २८ चैत । नेपालगञ्जमा कारले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ ।

बिपी चोक नजिकै सडकमा हिडिँरहेकाहरुलाई कारले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको हो ।

कारको ठक्करले नेपालगञ्ज उपमहानगरपालिका–११ की ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षीय कसिम इद्रिसी र ५ वर्षीय अलि इद्रिसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिमालय शाहले बताए ।

प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारको ठक्करबाट उनीहरूको मृत्यु भएको हो । पैदल यात्रीलाई ठक्कर दिएपछि चालकले कारमा राखेर उपचारका लागि लगेका थिए ।

ठक्करबाट घाइते तीनै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कार चालक नेपालगञ्ज उपमहानगर–१० का २८ वर्षीय इन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।