जनकपुरधाम, २७ चैत । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि धनुषाको मिथिला नगरपालिकामा नेकपा एमालेले मेयर पदको उम्मेदवारको टुंगो लगाएको छ ।

आइतबार बसेको एमालेको नगर कमिटी बैठकले वर्तमान मेयर हरिनारायण महतोलाई पुनः मेयर पदको उम्मेदवार बनाउने सर्वसम्मत रुपमा निर्णय गरेको हो ।

बैठकमा मेयर महतो, रामकुमार महतो, राजाराम महतो र लिलादेवी शर्माले लगायत चारजनाले मेयर पदको उम्मेदवारका लागि दावी पेश गरेका थिए । अन्य तीनैजनाले समर्थन गरी आफूलाई मेयर पदको उम्मेदवार बन्न सर्वसम्मत निर्णय भएको महतोले बताए ।

एमालेबाट मेयर पदको उम्मेदवारका लागि सिफारिस भएका महतो पार्टीका केन्द्रीय सदस्य हुन् ।

गत २०७४ को निर्वाचनमा एमालेबाट मेयरमा महतो र उपमेयरमा तारा लामा बस्नेत निर्वाचित भएका थिए । गत स्थानीय चुनावमा नेपाली काँग्रेसर र नेकपा माओवादी केन्द्रले तालमेल समेत गरेको थियो ।

यद्यपी नेपाली काँग्रेसबाट राजाराम महतो बागी उम्मेदवार बन्दा र गठबन्धन भित्रको अन्तरघातले गठबन्धन पराजित भएको थियो ।