जनकपुरधाम, २७ चैत । श्रीमज्जगदगुरू शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले नेपाल हिन्दु राष्ट्र नै रहेकोले कुनै नेताको प्रतिक्षा गर्नुपर्ने आवश्यक्ता नरहेको बताएका छन् ।

रामनवमी पर्वको अवसरमा जनकपुरधाममा आयोजना गरिएको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले नेपाल सुरक्षित रहे मात्रै भारत सुरक्षित रहने धारणा राखेका हुन् ।

‘नेपाल र भारतको सुरक्षाका लागि हिन्दु राष्ट्र कायम हुनु आवश्यक छ, उनले भने ‘मलाई कुनै नेताको आवश्यक्ता छैन, नेपाल हिन्दु राष्ट्र हो र रहिरहन्छ । म घोषणा गर्छु ।’

नेपाल र भारतको सांस्कृतिक धरातलमा एकरुपता रहेपनि पछिल्लो समय नेपाल चिनको षडयन्त्रमा फस्न लागेकोले त्यसतर्फ सावधान हुनु आवश्यक रहेको उनको भनाई थियो ।

‘नेपाल भारतको सांस्कृतिक धरातल एउटै छ, खासगरी दुई देश बिचको भाग अर्थात मिथिलाञ्चल क्षेत्र तर चिनको षडयन्त्रमा नेपालमा नफसोस, उनले भने ।’

शंकराचार्यले नेपाल र भारत दूबै देशले आफूलाई हिन्दु राष्ट्र कायम गर्यो भने एक वर्ष भित्रै विश्वका १५ वटा देश आफूलाई हिन्दुराष्ट्र कायम गर्ने दावी गरे ।

उनले आफ्नो मन्तव्यको क्रममा नेपालका राजनीतिज्ञहरुलाई चेताएका थिए । उनले भने,‘ओलीजी, प्रचण्डजी सावधान आफ्नो पूर्वजको विषयमा ज्ञान राख्नुस । मृत्युपछि धर्मले नै साथ दिन्छ वितण्डावादले तपाईलाई साथ दिदैन ।’