सिरहा, २७ चैत । सिरहाको एक स्थानीय तहका कर्मचारीले ३४ लाखभन्दा बढी राजस्व रकम गायब गरेको खुलेको छ ।

सिरहाको विष्णुपुर गाउँपालिकाको राजस्व शाखामा कार्यरत नायब सुब्बा महेन्द्रप्रसाद यादवले ३४ लाख बढी राजस्व गायब गरेका हुन् ।

उनले गत आर्थिक वर्ष ०७७/७८ मा संकलन भएको ५५ लाख २७ हजार ७७ रुपैयाँमध्ये ३४ लाख २३ हजार ७९० रुपैयाँ बैंकमा दाखिला नगरेको पाइएको छ ।

उनले सो रकम बैंक दाखिला नगरेको कुरा महालेखा परीक्षणको प्रतिवेदनबाट खुलेपछि गाउँपालिकाले उनलाई सो रकम दाखिला गर्न पटकपटक मौखिक ताकेता गर्दै आएको छ । तर, नासु यादवले अहिले आएर रकम दाखिला गर्न आलटाल गर्दै आएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत दीपकुमार यादवले गत चैत १५ गते तत्काल रकम जम्मा गर्न निर्देशनसहितको पत्र नासु यादवलाई जिम्मा लगाएका छन् ।

‘नासु यादवले रकम दाखिला नगरी गायब गरेको कुरा आफूले थाहा पाउने बित्तिकै जम्मा गर्न निर्देशन दिएको हुँ । तर, उनले आलटाल गरेपछि मैले उनको नाममा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ बमोजिम २५ प्रतिशत जरिवानासहित रकम बुझाउन पत्र काटेको छु’, प्रशासकी अधिकृत यादवले भने ‘अब उनले जरिवानासहित गाउँपालिकालाई ४२ लाख ७९ हजार ३३७ रुपैयाँ बैंक दाखिला गर्नुपर्नेछ ।’

स्रोतका अनुसार उक्त रकम गायब हुनुमा नासु यादव, गाउँपालिकाका अध्यक्ष जागेश्वर यादव र तत्कालीन प्रशासकीय अधिकृत रविन्द्र महतबीच मिलेमतो रहेको आरोप छ ।

नासु यादवले आफूसँग गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले रकम मागेपछि ‘पछि मिलाउने गरी’ उक्त रकम अध्यक्ष यादवलाई दिएको बताएका छन् । ‘मैलै त्यसरी गर्नु हुँदैन थियो । तर, अध्यक्षले काम छ, पछि मिलाउँला भनेर दबाब दिएपछि मैले उनलाई रकम दिए । तर, अहिले आएर म फसेको छु’, नासु यादवले भने ।

विष्णुपुर गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवले उक्त रकम तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्र महत र नासु यादवले एकआपसको मिलोमतोमा गायब गरी अहिले आफूलाई फसाउन आरोप लगाएको बताए ।