जनकपुरधाम, २७ चैत । मधेस प्रदेशमा पाँच दलीय सत्तागठबन्धनको बैठक बस्न सकेको छैन् ।

स्थानीय तहको निर्वाचनका लागि विभिन्न प्रदेशमा तालमेलका लागि सत्तारुढ गठबन्धनको बैठक भइरहेको अवस्थामा मधेस प्रदेशमा भने गठबन्धन दलको प्रदेशस्तरीय बैठक बस्न सकेको छैन ।

एक साता अघि यस प्रदेशमा स्थानीय तहमा चुनावी गठबन्धनका लागि जनकपुरधामस्थित नेपाली काँग्रेसको प्रदेश कार्यालयमा बैठक बसेको थियो । सो बैठकबाट २२ गते सम्ममा आ–आफ्नो पार्टीको पालिका कमिटी देखि जिल्ला कमिटीसँग आ–आफ्नो संगठनको अवस्था बारे बुझेर चैत २७ गते बैठक बस्ने गरी स्थगित भएको थियो । तर आज पनि बैठक बस्न सकेको छैन ।

गठबन्धनको बैठकका लागि अगुवाई गरेका कांग्रेस मधेस प्रदेशका अध्यक्ष कृष्ण यादवले पहलकदमी नलिँदा बैठक बस्न नसकेको गठबन्धनका घटक दलहरूको भनाइ छ ।

गठबन्धनका घटक दल नेकपा माओवादी केन्द्र मधेस प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले विभिन्न जिल्लामा गठबन्धन दलबीचको बैठक हुन बाँकी रहेकाले आइतवार भनिएको बैठक बस्न नसकेको बताए ।

अध्यक्ष बुढाथोकीले अधिकांश जिल्लामा गठबन्धनको बैठक बस्न नसकेकाले आजको बैठक नबसेको बताए ।

जिल्लास्तरमै गठबन्धनको बैठक बस्न नसकेपछि प्रदेशस्तरको गठबन्धनको बैठक अन्योलमा परेको छ ।

सत्ताघटक दल जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवले बैठकका लागि काँग्रेसले अहिलेसम्म अन्य दलसँग छलफल नगरेको बताए ।