जनकपुरधाम, २६ चैत । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरु तयारीमा जुटेका छन् ।

दलहरु आ–आफ्नो उम्मेदवार छनोट गर्ने कसरत सुरु गरिसकेको अवस्थामा तराई मधेश लोकतान्त्रिक पार्टीले पनि उम्मेदवार छनोट गरेको हो ।

तमलोपाले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ बसहियाको वडाध्यक्षका लागि उम्मेदवार छनोट गरेको छ ।

तमलोपाले भगीरथ लाल कर्णलाई वडा नम्बर–२४ को वडाध्यक्ष पदको उम्मेदवार बनाएको छ । त्यस्तै, शेष हीरा र लक्ष्मण महतोलाई सदस्य र सुनीता देवीलाई महिला सदस्य तथा उर्मिला देवी दासलाई दलित महिला सदस्यको उम्मेदवार बनाउने निर्णय गरिएको हो ।

तमलोपाले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ मा लक्ष्मण महतोको नेतृत्वमा ११ सदस्यीय वडा कमिटीसमेत गठन गरेको छ ।

पार्टीका धनुषा जिल्ला अध्यक्ष धीरेन्द्र बहादुर सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य उमेश कुमार मण्डल, भगीरथ लाल कर्ण, रमेश अधिकारी, जिल्ला सदस्य दुःखी मण्डल, शेष हिरालगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।