जनकपुरधाम उपमहानगरको मेयरमा बलराम महतोले स्वतन्त्र उम्मेदवारी दिने

जनकपुरधाम, २६ चैत । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्माण व्यवसायी बलराम महतोले जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन् ।
महतोले आफ्ना समर्थकको उपस्थितिमा शनिबार जनकपुरधाम उपमहानगरको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।
रमण कन्स्ट्रक्सनका सञ्चालकसमेत रहेका महतोले आफू कुनै राजनीतिक दलमा आबद्ध नभई स्वतन्त्र रूपमै मेयर पदका लागि उम्मेदवार रहेको बताए । उम्मेदवारी घोषणा गर्दै उनले राजनीतिक दलबाट निर्वाचित मेयरबाट नगरको दिगो विकास र समृद्धि नहुने भएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको प्रस्ट पारे ।
निर्माण व्यवसायी महतोले आफूले ३० वर्षसम्म देशको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याएको दावी गरेका छन् ।
‘मैले मेरो सीप र श्रम भौतिक निर्माण क्षेत्रमा प्रयोग गरेको थिएँ,’ उनले भने, ‘अब नगरको विकास गर्नुपर्छ भन्ने लागेपछि जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदको लागि तयारीमा जुटेको छु ।’
उनले जनकपुरधामको महत्वकांक्षी आयोजना नेपाल रेल्वेको ट्रयाक लाइनदेखि विदेशीको मुख्य आकर्षण र देशकै गौरवको आयोजना धरहरा पुर्ननिर्माण गर्ने सौभाग्यसमेत आफूले पाएकोमा गौरवान्वित मसहुस गरेको बताए ।
महतोले ‘पार्टीको नेता हैन स्थानीय विकासमा समर्पित जनसेवकलाई चुनौ’ भन्ने नाराका साथ आफू चुनावी मैदानमा होमिएको बताए ।
उनले नगरको विकासका लागि आफ्नो क्षमता र अनुभवको उच्चतम प्रयोग गरि ‘भनेर हैन गरेर देखाउनु छ’ भन्ने दृढ विश्वास र लगनका साथ अधुरा कामहरु पूरा गर्ने आफ्नो योजना र चाहना रहेकोसमेत स्पष्ट पारे ।
आफ्नो उम्मेदवारी विशुद्ध विकासका लागि भएको दाबी गर्दै महतोले नगरमा हुने संस्थागत भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


