काठमाडौं, २५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौती दिएका छन् ।

अध्यक्ष ओलीले पार्टी एकीकरणको बेला आफूले ५४ सिट दिएको प्रचण्ड र २३ सिट दिएको माधव नेपालले त्यसको दुरुपयोग गरेर पार्टी फुटाउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे ।

शुक्रबार काठमाडौंमा आयोजित पार्टी निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौंथो राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले २३ सिट पाउने हुती नभएको भन्दै माधव नेपालले आगामी संसदीय निर्वाचनमा ३ सिट ल्याएर देखाउन चुनौती दिए । जनादेशको दुरुपयोग गर्नेहरूलाई देखाउने गरी चुनावको तयारी गर्न पनि पार्टी निकट स्वास्थ्यकर्मीलाई अध्यक्ष ओलीले निर्देशन दिए ।

अध्यक्ष ओलीले एउटा नागरिकको हैसियतले सरकारले गरेका राम्रा कामको समर्थन गर्न र नराम्रा कामको विरोध गर्न पनि स्वास्थ्यकर्मीहरुले सक्नुपर्ने बताए । उनले मेडिकल कलेज र इन्जिनियरिङ कलेज खोल्नै नदिन मतियारहरू सक्रिय रहेको बताए ।

वरिष्ठ चिकित्सक गोविन्द केसीप्रति संकेत गर्दै उनले म नखाऊँ भनेपछि सरकार थरर काम्ने गरेको पनि बताए । विद्यार्थी बाहिर पढाउने र कमिसन खान पल्केकाहरूले नै नेपालजस्तो स्वास्थ्यको हब बन्न लायक मुलुकमा मेडिकल कलेज नै खोल्न नदिने अवस्था आएको ओलीको तर्क थियो ।