जनकपुरधाम, २५ चैत । महोत्तरीमा पुल मरम्मतको माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

महोत्तरीको बलवा नगरपालिकास्थित रातो नदीको पुल जोखिमपूर्ण रहेकाले स्थानीयले बाटो अवरुद्ध गरी तत्काल मर्मत सम्भारको माग गर्दै प्रदर्शन गरेका हुन् ।

जनकपुरधाम–भ्रमरपुरा–बलवा हुलाकी सडकखण्ड अन्तर्गत बलवा नगरपालिकाको बनचौरीस्थित रातो नदीको पुलमुनि खाडल छ । सो पुलमुनिको माटो नै नरहेपछि निकै जोखिमपूर्ण रुपमा सवारी साधन सञ्चालन हुँदै आएको छ ।

लामो समयदेखि आवाज उठाउँदा पनि सरोकारवालाले वास्ता नगरेपछि बाध्य भएर सडक अवरुद्ध गरेको स्थानीय वुषेश महतोले जानकारी दिए ।

जोखिमपूर्ण पुल हुँदै चारपांग्रे सवारीसाधन समेत सञ्चालन गर्दा पनि सोको मर्मत सम्भारका लागि ध्यान नदिँदा स्थानीयले सो पुललाई घेरबार गर्दै सडक अवरुद्ध गरेको उनले बताए ।

पुलसँगै बनेको खाडलका कारण सवारी दुर्घटना बढेको भन्दै तत्काल सडक तथा पुल मर्मत गर्नुपर्ने स्थानीयको माग छ ।