उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी छठ पर्व सम्पन्न

जनकपुरधाम, २५ चैत । आस्थाको महापर्व चैति छठ धार्मिक नगरी जनकपुरधामसहित मिथिलाञ्चलमा श्रद्धा र भक्तिपूर्वक सम्पन्न भएको छ ।
समापनको अवसरमा हजारौं भक्तजनहरूको सहभागिता रहेको थियो । चारदिवसीय छठ पर्वको आज अन्तिम दिन उदाउँदै गरेको सूर्यदेव भगवानलाई ठेकुवा, भुसवा, नरिवल, केरा, अदुवा, फलफूल, विभिन्न परिकारसहित अर्घ अर्पण गरी छठ पर्व सम्पन्न भएको हो ।
व्रतालुहरूले प्रत्येक वर्ष कात्तिक र चैत महिनाको शुक्ल षष्टी तिथिका दिन जलाशयको किनारमा भगवान् सूर्यदेव र षष्टी देवीलाई अर्घ अर्पण गरी छठ पर्व मनाइने गरिन्छ । जलाशयमा आधा शरीर पानीमा डुबाएर सूर्यदेव भगवान् र षष्टी माताको आराधना गरी छठी पारन सकिएको छ । चारदिवसीय छठअन्तर्गत पहिलो दिन नहाय खाए, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिइयाे ।
जनकपुरधामको ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगज्जासहित दुई दर्जन पोखरीलाई दुलहीझैं सिंगारेर छठ पर्व मनाइएको छ ।
छठ पर्व गर्नाले दुःख चिन्ताबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग निको हुने र पारिवारिक सुख शान्ति रहने जनविश्वासका साथ छठ पर्व मनाउने गरिन्छ । करिब ३६ घण्टासम्म निराहार रही गरिने यस व्रतलाई कठोर निष्ठा, आस्था र पवित्रताको पर्वको रूपमा स्थापित भएको छ ।
यसैगरी धनुषा जिल्लाको ग्रामीण क्षेत्रमा पनि हर्षोल्लासका साथ छठ पर्व मनाइएको छ । आदिकालमा सती अनुसुइयाले रोगग्रस्त पतिलाई निको हुनका लागि भगवान् सूर्य र षष्टी देवीको पूजापाठ गरेकी थिइन् । त्यसैगरी, महाभारतकालमा पाँच पाण्डवका पत्नी द्रौपदीले कौरवलाई पराजित गर्नका लागि सूर्यदेवको उपासना गरी छठ पर्व मनाएको महाभारत कथामा उल्लेख छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


