विदेह नगरपालिकामा आन्दोलनकारी जुझारू नेतृ विमलाको दावी

जनकपुरधाम, २४ चैत । धनुषाको विदेह नगरपालिकाको मेयरमा महिला नेतृ विमला साहले दाबी गरेकी छन् ।
भर्खर मात्रै अस्तित्वमा आएको तराई मधेस लोकतान्त्रिक पार्टीबाट विमलाले यसपटक मेयरमा आफू उम्मेदवार बन्ने घोषणा गरेकी हुन् ।
उनले भनिन,‘यसपटकको चुनावमा मैले उम्मेदवारी दिने मुड बनाएकी छु । यसमा सबैले मलाई सघाउनुपर्छ ।’
विमलाले निर्वाचनको लागि आन्तरिक तयारी तीव्र पारेको बताइन । ‘तमलोपा अध्यक्ष बृषेशचन्द्र लाल आफैंले अबको मेयरको उम्मेदवार विमला हुन भनेपछि मेरो बाटो खुल्ला भएको छ,’ उनले भनिन,‘त्यसै अनुसार मैले मेयर पदमा चुनाव लड्ने तयारी गरिरहेकी छु ।’
उनले भनिन,‘मधेसमा मेरो लगानी छ । आन्दोलनमा अग्रस्थानमा सधैं मेरो सक्रिय उपस्थिती थियो । अब महिलाको लागी पनि मेयरमा उम्मेदवारी जरूरी छ ।’
उनले भ्रष्टाचारलाई जरैदेखि समाप्त पार्नका निमित्त पनि आफ्नो उम्मेदवारी रहेको बताइन् ।
‘पार्टीले मलाई मेयरको लागी अगाड़ी बढायो भने म तयार छु,‘उनले भनिन,‘मलाई मौका मिल्नु पर्छ ।’
महिलाहरुलाई प्रायः उपमेयरमा अगाड़ी सारेको देखिन्छ त्यो आफैंमा विभेद छ । महिलालाई पनि कार्यकारी पदमा अगाड़ी बढाउनुपर्ने कुरामाथि विमलाको जोड छ ।
को हुन् विमला साह ?
आन्दोलनकारी जुझारू नेतृ विमला साह विगत १५ बर्षदेखी मधेसको राजनीतिमा सक्रिय चर्चित महिला हुन् । सामाजिक संघसंस्थाहरुमा पनि उनको सक्रियता सराहनीय छ । उनी सहकारीका सदस्य हुन् साथै माछा सुपर जोनमार्फत पनि जनताहरुलाई सहयोग गर्दै आइरहेकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरधाम आएको बेला उनको विरोध गर्दा उनीमाथि मुद्दासमेत चलाइएको थियो ।
विमला अहिले तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य हुन् ।
उनले विदेह नगरपालिकालाई पर्यटकीय र नयाँ समृद्ध नगर बनाउने आफ्नो सपना रहेको बताइन । ‘म कार्यकारी भूमिकामा नभए पनि नगरपालिकाको विकास तथा जनताको सेवाका लागि भूमिका खेलेकै छु । अब भने मेयर बनेर अझ बढी काम गर्ने चाहना छ,’ उनले भनिन, ‘हालका मेयरको अगुवाईमा भएका राम्रा कामलाई निरन्तरता दिने र अधुरा कामलाई पूरा गर्न चाहन्छु ।’
शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने, पर्यटन, सड़क, स्वच्छता, स्वास्थ्य र कृषि जस्तो क्षेत्रमा काम गर्ने र रोजगारीको सिर्जना गर्नेलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई अझै बढी आकर्षक बनाउन सकिने उनले बताइन ।
‘राजनीतिक तथा सामाजिक संघ संगठनमा राम्रो पकड पनि भएको र उच्च तहका नेताहरुसँग सुमधुर सम्बन्ध पनि भएकाले विदेह नगरपालिकामा नमूनायोग्य काम गर्न सक्छु भन्नेमा पूर्ण विश्वस्त छु,’ उनले भनिन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


