काठमाडौं, २३ चैत । पाँच दलीय सत्ता गठबन्धनले २६ चैतसम्म जिल्लाको चुनावी अवस्थाको रिपोर्टिङ गर्न निर्देशन दिएको छ ।

सत्ता गठबन्धनको स्थानीय तह चुनाव तयारी, परिचालन तथा अनुगमन समितिको बैठकले तीन दिनभित्र केन्द्रमा प्रतिवेदन पठाउन निर्देशन दिएको हो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको समितिको बैठक बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो । समितिको बैठकले स्थानीय तहमा गठबन्धन आबद्ध दलहरूको आवस्था र तालमेल आवश्यकताबारेको प्रतिवेदन पेस गर्न भनेको हो ।

सत्ता गठबन्धनले यसअघि नै स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको छ । समितिको बैठकले २६ चैतभित्र देशैभरबाट रिपोर्टिङ बुझाइसक्न प्रदेश संयन्त्रलाई निर्देशन दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । उनका अनुसार आजको बैठकमा गठबन्धनको मोडालिटीबारे सामान्य छलफल भएको थियो । बाँकी विषयमा रिपोर्ट आइसकेपछि अर्को बैठक बसेर छलफल हुने छ ।

आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि तालमेल गरेर जाने सत्ता साझेदार दलहरूले औपचारिक निर्णय गरेका छन् । दलहरूले स्थानीय तहमा आ–आफ्ना पार्टीको राजनीतिक र जनमत अवस्था बुझ्न प्रदेश, जिल्ला र पालिकास्तरीय संयुक्त संयन्त्रसमेत बनाएका छन् ।

तालमेलको मोडालिटी तयार पार्नका लागि मंगलबार बसेको सत्ता साझेदार दलहरूको बैठकले नेता पौडेलको नेतृत्वमा समिति गठन गरेको थियो ।

समितिमा सत्ता साझेदार पाँच दलमध्ये चार वटाबाट दुई÷दुई जना र जनमोर्चाबाट एक जना सदस्य रहेका छन् । समितिमा गगन थापा, ज्ञानेन्द्रबहादुर कार्की, वर्षमान पुन, देवप्रसाद गुरूङ, बेदुराम भुसाल, विजय पौडेल, अशोक राई र रेणु यादव र हिमाल पुरी सदस्य छन् ।

–फरकधार