नेपालमा लागुऔषध गम्भीर समस्याको रूपमा देखिएको भन्दै गृहद्वारा चिन्ता व्यक्त

काठमाडौं, २३ चैत । नेपालमा लागुऔषध गम्भीर समस्याको रूपमा देखा पर्न थालेको भन्दै गृह मन्त्रालयले चिन्ता व्यक्त गरेको छ ।
बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले पछिल्लो समय नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको बताएका हुन् ।
उनले लागुऔषधका कारण विभिन्न अपराधिक घटनाहरू भइरहेको र त्यसलाई नियन्त्रण गर्न सरकारले विभिन्न कार्ययोजना बनाइरहेको पनि बताए । गृहसचिव पाण्डेले लागुऔषधका कारण अवैध कारोबारमा प्रोत्साहन भइरहेको र युवा जनशक्तिको सिर्जनशीलतामा पनि असर पारिरहेको बताए ।
लागुऔषधकै कारण अपराधिक घटनाहरू पनि बढ्दै गएको र राष्ट्रिय सुरक्षामा नै चुनौती सिर्जना भएको उनले बताए । उनले यसलाई नियन्त्रण गर्नका लागि सरकारले तीनै तहका सरकारी र गैरसरकारी क्षेत्रमा दीर्घकालीन सोच, नीति, कार्यक्रम क्रियाकलाप र बजेट तर्जुमा गर्नु पर्ने बताए ।
त्यस्तै, गृहमन्त्रालयका उपसचिव गोकर्णप्रसाद उपाध्यायले २०७६ मा भएको पछिल्लो सर्वेक्षणअनुसार नेपालमा १ लाख ३० हजार ४२४ जना लागुऔषधका प्रयोगकर्ता रहेको बताए । उनले उक्त प्रयोगकर्तामध्ये महिलाको संख्या ८ हजार ३७१ रहेको बताए । त्यस्तै, नेपालको कारागारमा रहेका २६ हजार कैदीबन्दीमध्ये कात्तिक २०७८ सम्मको तथ्यांकअनुसार २१ प्रतिशत लागुऔषधकै मुद्दामा रहेको बताए ।
उपसचिव उपाध्यायले नेपालमा लागुऔषध कारोबारमा २०७७÷०७८ मा ४ हजार ६२६ जना पक्राउ परेकाहरूमा ३ हजार १३ जनालाई मुद्दा चलाइएको र त्यसमध्ये १४७ जना विदेशी नागरिकहरू रहेको बताए । सो अवसरमा लागुऔषध कारोबार हुने मुख्य ५ जिल्लामा काठमाडौं, रुपन्देही, कास्की, कैलाली र पर्सा रहेको पनि जानकारी गराइएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


