काठमाडौं, २२ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले उद्योगी व्यवसायीको मागलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको चौथो वार्षिक साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले उद्योगी व्यवसायीका अहिलेका समस्या र मागलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले पछिल्लो समय उद्योगी व्यवसायीका धेरै समस्या रहेकाले व्यवसायीको समस्या समाधान गर्न सरकारलाई आग्रह गरे । उपराष्ट्रपति पुनले उद्योगका लागि चाहिने दक्ष जनशक्ति उत्पादनका लागि तालिम केन्द्र, ७५३ वटै स्थानीय तहमा औद्योगिक ग्राम स्थापनाको नीति कार्यान्वयन गर्नुपर्ने र वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमा नै स्वरोजगार बढाउन विशेष नीति लिन सरकारको ध्यानाकर्षण गरे ।

त्यस्तै, उपराष्ट्रपति पुनले निजी क्षेत्रले वैदेशिक लगानी भित्र्याउनका लागि निर्यात व्यापार प्रवर्द्धनमा योगदान पु¥याउनु पर्ने बताए । उनले मुलुकको अर्थतन्त्रमा आएको चुनौतीका कारण उद्योगी व्यवसायीहरूले विदेशमा नभएर स्वदेशमा नै लगानी बढाउनु पर्ने आवश्यकता रहेको बताए ।